२०८२ बैशाख १८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आफू बसेकै ठाउँबाट स्वास्थ्य बीमा सेवाको व्यवस्था, एक महिनामै सेवा लिन सकिने


बिर्तामोड, बैशाख १८ । सेवाग्राहीले अबदेखि आफू बसोबास गरेको स्थानबाट नै स्वास्थ्य बीमा सेवा पाउने भएका छन् ।अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै उक्त व्यवस्था लागु गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाहरूले आफू जहाँ बसोबास गरेको छ सोही ठाउँबाट सेवा लिन पाउने भएका हुन् ।

यसअघि बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुग्नुपर्ने बाध्यता थियो । तर अब व्यक्तिले बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बीमाको सुविधा लिन पाउनेछन् ।

 नियमावली संशोधन भएकाले अब नेपालको जुन ठाउँबाट स्वास्थ्य बीमा गरे पनि र जुनसुकै ठाउँमा स्वास्थ्य बीमाको सुविधायुक्त अस्पतालमा भर्ना भए पनि बीमा सुविधा पाइने छ ।

नियमावली संशोधनसँगै अब बीमा गरेपछि सेवा लिनका लागि तीन महिना पर्खनुपर्ने अवस्था पनि अन्त्य भएको छ । अब बीमा गरेपछि एक महिनाभित्रै सेवा लिन सकिने व्यवस्था लागु हुनेछ ।

मन्त्री पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नु पर्दथ्यो ।

Adv footer