२०८२ बैशाख १८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड कृषि थोकमा अध्यक्षद्वारा आफूखुसी सामान खरिद, अख्तियारद्वारा कृषि विभागलाई कारबाहीको पत्र


बिर्तामोड, बैशाख १८ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्षमाथि ‘हिनामिना’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्षसमेतको मिलेमतोमा हिनामिना भएको भन्दै उजुरी परेपछि अख्तियारले यथार्थ छानबिनसँगै आवश्यक कारबाही गर्न कृषि विभागलाई पत्र काटेको छ ।

समितिका अध्यक्षसमेतको मिलेमतोमा बजार समितिको कार्यालय सञ्चालन गर्ने कोठा निर्माण गर्दा सामग्री आफूखुसी खरिद गरेको साथै बजारको आर्थिक आम्दानी समेत हिनामिना गरेको अख्तियारमा २०८१ साउन १६ गते उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा अख्तियारले विभागलाई २०८१ चैत ३१ गते पत्र लेख्दै कारबाहीका लागि अनुरोध गरेको शाखा अधिकृत सरोज थापाले बताए ।

त्यस्तै, कृषि बजार व्यवस्थापन समितिले खरिद गर्दा खरिद कानुनको पूर्ण रुपमा पालना नगरेको, बिल भर्पाइहरु भुक्तानी दिँदा समितिले अनुमोदन गरेको नदेखिएको, अन्य जेजति भए गरिएका कार्यहरु प्रायजसो बजार व्यवस्थापन समितिको निर्णयबिना गरिएको सम्बन्धमा प्रचलित कानुनबमोजिम गर्नु गराउनुहुन भन्दै अख्तियारले विभागलाई पत्र लेखेको छ ।

बजार व्यवस्थापन समितिमा हाल निरज ओली अध्यक्ष छन् । उनी २०८० चैत ३ गते अध्यक्षमा निर्वाचित भएर आएदेखि नै समितिमा मनोमानी सुरु भएको बताइएको छ । उनी अध्यक्ष भएपछि २०८१ साउनयता एकपटक पनि बैठक बस्न नसकेको समितिका एक सदस्यले बताए ।

यसरी भएको थियो हालको समितिको निर्वाचन

विवाद भएर चारपटक स्थगित भएको निर्वाचन २०८० चैत ३ गते भएपछि नयाँ नेतृत्व चयन भएको थियो । फागुन २० गते कृषि बजारका व्यवसायीहरुको निर्वाचन भएको थियो ।

त्यसको भोलिपल्ट कृषकहरुको निर्वाचन तोकिएको थियो । तर, विवादका कारण चारपटक निर्वाचन स्थगित भएर निर्वाचन सम्पन्न भएको थियो ।

कृषकहरुको निर्वाचनबाट पार्वता बजगाईं बुद्धशान्ति ३०, पूर्ण खड्का मेचीनगर २९ र निरज ओली बिर्तामोड २३ मतसहित निर्वाचित भएका थिए ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र आठवटा पालिका रहेको छ । बिर्तामोड, अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर नगरपालिका तथा बाह्रदशी, हल्दिबारी र बुद्धशान्ति गाउँपालिकाका नेतृत्वहरुले पाँचपाँचजनाको दरले कृषक प्रतिनिधि पठाएका थिए ।

तिनै ४० जना कृषक प्रतिनिधिहरुको निर्वाचन भएको थियो । निर्वाचनमा ३९ जनाले भाग लिएका थिए ।

यसअघि माघ २० गते भएको मतदानबाट तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित भएका थिए । इन्द्रजित चौधरी, पार्वती खतिवडा (ज्योति) र खगेन्द्र महतो निर्वाचित भएका थिए । कृषक प्रतिनिधि र व्यवसायी प्रतिनिधिहरुले अध्यक्ष चयन गरेका थिए ।

Adv footer