
बिर्तामोड, बैशाख १९ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोर्ट्स सेन्टरमा भएको प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ ।
आज भएको उद्घाटन खेलमा कनकाईको रारारारा एफसीलाई टाइब्रेकरमा हराउँदै आयोजक बिर्तामोड स्पोर्ट्स सेन्टर अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा आयोजकले कनकाईलाई ४-२ गोल अन्तरले हरायो ।
नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा आज बिहान एक कार्यक्रमका बीच एनी ब्रान्डका सञ्चालक सन्तोष थोप्राले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा जारी प्रतियोगितामा आज पहिलो दिन १६ वटा खेल हुने आयोजकका अध्यक्ष सञ्जीव प्रसाईंले बताए ।
प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउनेछ ।
प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहको सेन्टरका सञ्चालक गणेश कटवालले जानकारी दिए । झापाका २०, सुनसरी, इलाम र पाँचथरका ९ तथा भारतका ३ टिम प्रतियोगितामा सहभागी छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाउनेछ भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गर्ने सञ्चालक प्रसाईंले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार पाँच सय, ट्रफी र मेडल पाउनेछ ।