
बिर्तामोड, बैशाख १९ । कोशी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीबार पुरुषतर्फ कोशीले जित निकालेको हो ।
कोशीले मधेश प्रदेशमाथि ५–३ गोलअन्तरको जित दर्ता गर्यो । कोशीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदिप चौधरीले समान एक गोल गरे । मधेशका रूपेशकुमार राईले २ र अजयकुमार साहले १ गोल फर्काए ।
लक्ष्मण प्लेअर अफ दि म्याच भए । उनले २ हजार रुपैयाँ पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेशले हार सामना गरेको हो ।
समूह ‘ए’ को कोशीले पहिलो खेलमा जित निकाल्दै ३ अंक बटुल्यो । ४ टोली रहेको यस समूहमा त्रिभुवन आर्मीले पनि एक जित निकालेको छ । पुरुषतर्फ लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ ।
समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन् । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको थियो ।