२०८२ बैशाख २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

न्युटन्सकी शिक्षिका शिवाकोटीले अवकाश हुँदा पाइन् २० लाख रकम


बिर्तामोड, बैशाख १९ । अरु संस्थागत विद्यालयका शिक्षकहरु अन्तिम अवकाशका बेला खाली हात विदा हुन्छन् । तर, बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमीकी मिनु शिवाकोटीले अवकाशका बेला २० लाख रुपैयाँभन्दा बढी रकम पाइन् ।

२१ वर्ष सेवा गरेर स्वेच्छिक अवकाश लिएकी शिवाकोटीले अवकाश कोषबाट साढे ८ महिनाको तलब ३ लाख ४७ हजार ६५०, नागरिक लगानी कोषबाट ८ लाख ३५ हजार १८४, कर्मचारी सञ्चय कोषबाट ७ लाख ५२ हजार र शिक्षक कल्याण कोषबाट ५१ हजार १०८ रुपैयाँ गरी जम्मा २० लाख ८ हजार २२१ रुपैयाँ पाएकी हुन् ।

उनले मात्र होइन, न्युटन्सकै अर्का शिक्षक आइन्द्र सुब्बाले पनि दुई वर्षअघि अवकाश लिँदा साढे १० लाख रुपैयाँ पाएका थिए ।

शिक्षासेवी हरिकुमार प्रसाईं संस्थापक रहेको बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीले आफ्नो ऊर्जाशील समय बिताएर अवकाश हुने शिक्षकहरुले खाली हात जान नपरोस् भनेर विभिन्न कोषहरुको व्यवस्था गरेको हो ।

कर्मचारी सञ्चय कोष, नागरिक कल्याण कोष, शिक्षक कल्याण कोष र अवकाश कोषबाट प्राप्त हुने रकमले सामुदायिक विद्यालयका सरह न्युटन्सका शिक्षकहरु आकर्षक रकम लिएर विदा हुने गरेका छन् ।

२०६० सालमा १५० जना विद्यार्थीबाट न्युटन्स एजुकेसन एकेडेमी स्थापना भएको थियो । सुरुवाती समयमा केही अप्ठ्यारो भए पनि २०६५ सालदेखि संस्थापक हरिकुमार प्रसाईंले विद्यालयका तर्फबाट सञ्चय कोषको व्यवस्था गरेका थिए ।

त्यस्तै, विद्यालयले कमाएको मुनाफाको केही प्रतिशत रकमबाट प्रसाईंले अवकाश कोषको स्थापना गरेका थिए । सोही कोषमा प्रसाईंले आफ्नो दुई वर्षको तलब सहयोग गरेका थिए ।

अवकाशका बेला त्यति धेरै रकम पाउँदा शिक्षक मिनु शिवाकोटी सन्तुष्ट छिन् । संस्थागत विद्यालयका शिक्षकहरुले खाली हात जानु नपरोस् भनेर शिक्षकको मनस्थिति बुझेर न्युटन्सले गरेको यस किसिमको व्यवस्था अरु विद्यालयका लागि प्रेरणादायी भएको प्रतिक्रिया दिइन् ।

संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षकसरह अनिवार्य व्यवस्था गर्नुपर्ने माग हुँदै आएको छ । संस्थागत विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीको रेकर्ड अद्यावधिक राख्नुपर्ने र सबै शिक्षक–कर्मचारीका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग हुँदै आएको हो ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) विभिन्न माग राखी आन्दोलित रहेको छ । शैक्षिक अगुवा रहेका हरिकुमार प्रसाईंले तलदेखिका शिक्षकहरुको मर्मलाई बुझेर चारवटा कोषको व्यवस्था गरेको न्युटन्सका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताए ।

उनले यस किसिमको व्यवस्थाले अन्तिम अवकाश लिने शिक्षकहरुलाई थारै भए पनि राहत मिलेको बताए ।

न्युटन्सले यी कोषबाहेक शिक्षकहरुलाई पढाइ खर्च, सुत्केरी खर्चलगायतका सुविधा पनि दिँदै आएको छ । न्युटन्समा १६२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । त्यसमध्ये ५२ जना स्थायी हुन् ।

४ वर्ष सेवा अवधि पूरा गरेपछि स्थायी नियुक्ति दिने गरिएको छ । राम्रो सेवा सुविधा भएकै कारण न्युटन्सप्रति शिक्षक कर्मचारीहरु आकर्षित भएको बताइन्छ ।

Adv footer