२०८२ बैशाख २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

‘अञ्जिला’ ५१ औँ दिनमा, कमाइ साढे ८ करोडमाथि


बिर्तामोड, बैशाख २० । गत फागुन २९ गते रिलिज भएको मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ । २०८१ सालको यो सुपरहिट फिल्म अहिले पनि ४० भन्दा धेरै शोसहित प्रदर्शनरत छ ।

फिल्मले शुक्रबारसम्म सरकारको आधिकारिक बक्सअफिसमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । प्रदर्शनको केही हप्ता फिल्मले बक्स अफिसमा सानदार व्यापार गरेको थियो ।

निर्माताले भने १० करोड ग्रस दाबी गरेका छन् । बक्स अफिस र निर्माताको हिसाबमा ठूलो अन्तर देखिए पनि निर्विवाद सत्य के हो भने ‘अञ्जिला’ सुपरहिट भइसकेको छ । यो सर्वाधिक कमाइ गर्ने र ५१ दिन मनाउने पहिलो बायोपिक फिल्म समेत बनेको छ ।

महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित यो फिल्ममा एन्जिलासहित दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ ।

निर्माताले सशस्त्र प्रहरी बल (एपिएफ)को हलचोकमा ५१ दिनको कार्यक्रम आयोजना गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए ।

उनी भन्छन्, ‘हामी सबैसँग मिलेर यो सफलता सेलिब्रेट गर्न उत्साहित छौँ ।’ यो फिल्मको आम्दानीबाट एन्जिलाका लागि काठमाडौँमा घर खरिद गर्ने तयारीमा निर्माता छन् ।

Adv footer