
बिर्तामोड, बैशाख २० । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोट्र्स सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताअन्तर्गत १६ वटा टिम प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
हिजो राति ११ बजेसम्म भएका खेलमा ३२ वटा टिमले प्रिक्वार्टर फाइनल प्रवेशका लागि खेलेका थिए । हिजो बिहान ९ बजे सुरु भएको उद्घाटन खेलमा कनकाईको रारारारा एफसीलाई टाइब्रेकरमा हराउँदै आयोजक बिर्तामोड स्पोर्ट्स ए सेन्टर विजयी भएको थियो ।
त्यस्तै, पोल ए बाट दिपक ग्रिल एफसीलाई हराउँदै आरटी एफसी बिर्तामोड, साउन्डलेस रिक्रुमेन्ट बिर्तामोडलाई हराउँदै मार्क्स एफसी सिलिगुडी र मोक्ष एफसी इलामलाई हराउँदै वसन्तटार एफसी धरान विजयी भए ।
त्यस्तै, सितली स्पोर्टिङ क्लब इलामलाई हराउँदै शनिश्चरे एफसी, धुलाबारी एफसीलाई हराउँदै बिबी फुटसल धरान, ब्रदर्स युनाइटेड चन्द्रगढीलाई हराउँदै नेताजी युथ क्लब सिलिगडी र आदर्श मैदान बि लाई हराउँदै खुदुनाबरी एफसी विजयी भए ।
त्यस्तै, पोल बि बाट बेलडाँगी क्रिस्चियन सोसाइटीलाई हराउँदै आयोजक बिर्तामोड स्पोर्ट्स सेन्टर बि, नमुना युवा क्लब इलामलाई हराउँदै फ्युचर ब्रिज कन्सल्टेन्ट बिर्तामोड, हस्ट्लेर्स एफसी सिलिगुडीलाई हराउँदै बुद्धनगर स्पोर्टिङ एफसी बिर्तामोड र सामाङखु स्पोर्टिङ क्लब पाँचथरलाई हराउँदै योङ युथ एफी विजयी भए ।
त्यस्तै, मुक्कुम्लुङ एफसी धरानलाई हराउँदै आदर्श मैदान ए, स्वागत युवा एफसी बिर्तामोडलाई हराउँदै एमपिसी इलाम, सिरिजंगा एफसी भद्रपुरलाई हराउँदै यती एफसी धरान र आरटी एफसी ए बिर्तामोडलाई हराउँदै पूर्वेली एफसी बिर्तामोड विजयी भए ।
नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा बिर्तामोड स्पोट्र्स सेन्टरमा आज क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउने आयोजकका अध्यक्ष सञ्जीव प्रसाईंले बताए ।
प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहको सेन्टरका सञ्चालक गणेश कटवालले जानकारी दिए ।
झापाका २०, सुनसरी, इलाम र पाँचथरका ९ तथा भारतका ३ टिम प्रतियोगितामा सहभागी छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाउनेछ भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गर्ने सञ्चालक प्रसाईंले बताए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार पाँच सय, ट्रफी र मेडल पाउनेछ ।
प्रतियोगिता बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा जारी छ ।