२०८२ बैशाख २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारा साइक्लिङ च्यालेन्जको उपाधि मेचीनगरका राजवंशीलाई


बिर्तामोड, बैशाख २० । झापाको अर्जुनधारामा भएको प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ को उपाधि मेचीनगरका मिलन राजवंशीले जितेका छन् ।

१८ किलोमिटरको दूरी उनले ३४ मिनेट १ सेकेन्डमा पूरा गरे । उपाधिसँगै मेचीनगर-१० का राजवंशीले नगद १५ हजार र मेडल पाए ।
प्रतियोगितामा मेचीनगर-४ का अर्जुन बस्नेत दोस्रो भए । ३५ मिनेट ४८ सेकेन्डमा दूरी पूरा गरेका उनले नगद १० हजार र मेडल प्राप्त गरे ।

३६ मिनेट २६ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भएका बिर्तामोड-१ का बादल लिम्बूले नगद पाँच हजार र मेडल पाए । प्रतियोगितामा चौथो साहिल नेपाली र पाँचौँ प्रबल वैद्य भए ।

त्यस्तै, पाँच किलोमिटरको अन्डर १३ तर्फ बिर्तामोडका रोजल शाक्य प्रथम भए । उनले पाँच हजार र मेडल पाए ।

दोस्रो भएका अर्जुनधाराका दर्शन लिम्बू र तेस्रो भएका प्रिन्स दनुवारले मेडलसहित जनही तीन हजार र दुई हजार नगद पाए ।

महिलातर्फ बिर्तामोडकी सुष्मा शाक्य र भेट्रान्सतर्फ भद्रपुरका पूर्वनगरप्रमुख जीवनकुमार श्रेष्ठ च्याम्पियन भए । उनहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विजेताहरुलाई प्रमुख अतिथि अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा ६ का वडा अध्यक्ष हरीशचन्द्र बास्तोला, वडा नम्बर ७ का वडा अध्यक्ष गोविन्दप्रसाद खतिवडा, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायत दाताहरुले पुरस्कार वितरण गरेका थिए ।

कप्तानबारी युवा परिवारको आयोजनामा भएको प्रतियोगितामा झापा जिल्लाका खेलाडीलाई मात्र समावेश गरिएको अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष चौधरीले जानकारी दिए ।

क्लबका कोषाध्यक्ष गगन बानियाँका अनुसार कप्तानबारीको दुर्गा मन्दिरबाट सुरु भएको दौड कञ्चनबाडी, अर्जुनधाराधाम, नारायणचोक, मदनपुर, सिस्ने, जयपुर, कटरडाँडा प्रणामी मन्दिर, लक्ष्मीपुर पुष्पलालचोक हुँदै पुनः कप्तानबारीमा आएर टुंगिएको थियो ।

Adv footer