
बिर्तामोड, बैशाख २१ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोर्टस सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगितामा आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ र योङ युथ एफसी धरान फाइनल प्रवेश गरेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले सिलिगुडीको नेताजी युथ क्लबलाई ६-२ गोल अन्तरले हरायो । अन्तिम सेमिफाइनल खेलमा योङ युथले धरानको यती एफसीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आयोजकले माक्र्स एफसी सिलिगुडी र नेताजीले शनिश्चरे एफसीलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेका थिए । त्यस्तै, योङ युथले आयोजक बि र यतीले आदर्श मैदान ए लाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउने आयोजकका अध्यक्ष सञ्जीव प्रसाईंले बताए ।
प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहेको सेन्टरका सञ्चालक गणेश कटवालले जानकारी दिए । झापाका २०, सुनसरी, इलाम र पाँचथरका ९ तथा भारतका ३ टिम प्रतियोगितामा सहभागी छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाउनेछ भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गर्ने सञ्चालक प्रसाईंले बताए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार पाँच सय, ट्रफी र मेडल पाउनेछ । प्रतियोगिता बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोर्टस सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा जारी छ ।