२०८२ बैशाख २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दमक नगरपालिकामा सरस्वती माविद्वारा अनिश्चितकालीन तालाबन्दी


दमक, बैशाख २३ । झापाको दमक नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । तालाबन्दी दमक–९ को सरस्वती माविले गरेको हो ।

आफ्नो विद्यालयको नाममा दमक-८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि नगरपालिकाले नहटाएको भन्दै सरस्वती माविले मंगलबार तालाबन्दी गरेको हो ।

विद्यालयको नाममा जग्गामा गडमदर एकेडेमी एन्ड टेक्नोलोजी नामक निजी विद्यालय सञ्चालन भइरहेको छ । सो विद्यालयलाई नयाँ शैक्षिकसत्रदेखि हटाउने गरी गत भदौमा दमक नगरपालिकाले निर्णय गरेको थियो ।

नयाँ शैक्षिकसत्रको बैशाख अन्तिम भइसक्दा समेत नहटाएको भन्दै नगरपालिका कार्यालयको मुख्य प्रशासनिक भवनमा अनिश्चितकालीन तालाबन्दी गरिएको सरस्वती मावि व्यवस्थापन समिति अध्यक्ष रेवतीराज पुरीले जानकारी दिए ।

गडमदर नामक निजी विद्यालयले सुरुवातमा सरस्वती माविसँग सम्झौता गरेर विद्यालय सञ्चालन गरिरहेको थियो । तर, २०७३ मा पाँच वर्षे सम्झौता सकिएपछि सरस्वती माविले सम्झौत गरेको छैन ।

उसले २०७३ सालदेखि नै अनाधिकृत रूपमा सामुदायिक विद्यालयको जग्गामा निजी विद्यालय सञ्चालन गरिरहेको सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिए ।

तालाबन्दीपछि दमक नगरपालिकाको दैनिक कामकाज अवरुद्ध भएको छ । कार्यालयमा तालाबन्दी भएपछि कर्मचारीहरु नगरपालिका परिसरमै बसेका छन् ।

Adv footer