२०८२ बैशाख २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका डिएसपी सम्मानमा व्यस्त, दिनो राजवंशीको फाइल ‘अस्तव्यस्त’


बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोड-२ चैतुबारीकी ४२ वर्षीया दिनो राजवंशीको बलात्कारपछि हत्या भएको चार वर्ष बित्यो । २०७७ पुस ५ गते बिहान उनको शव भेटिएको थियो ।

योबीचमा इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा चारजना प्रहरी प्रमुखले कमान्ड सम्हालेर विदा भइसके । उनीहरुले आउँदाजाँदा भव्य स्वागत र विदाइको सम्मान पनि पाए ।

तर, उनीहरुले राजवंशीको हत्यारा पत्ता लगाउन सकेनन् । सके त यहाँका व्यापारीको प्यारो बन्न । अनि व्यापारीलाई पनि अपराधी पक्राउको सम्मानभन्दा आफू नजिक हुने लोभ मात्र भएको देखियो ।

२०७७ सालदेखि २०८२ को बैशाख दोस्रो सातासम्म मुकुन्द रिजाल, रुगमबहादुर कुँवर, सुरज कार्की र प्रकाश विष्टले बिर्तामोड प्रहरीको नेतृत्व सम्हाले । भर्खरै विजय श्रेष्ठ हाजिर भएका छन् ।

२०७७ पुस ४ गते बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन उनी घरबाट हिँडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको शव भोलिपल्ट बिहान भेटिएको थियो ।

सोही ठाउँका मोहन मगरको खेतमा नाक र मुखबाट सामान्य रगत बगेको, उत्तानो अवस्थामा शव फेला परेको थियो । शवको छेउमै खानाको पोको र टर्चलाइट भेटिएको थियो ।

घटनापछि संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिमप्राप्त कुकुर मगाएर त्यसबेलाका डिएसपी मुकुन्द रिजालले अनुसन्धान थालेका थिए । घरपरिवारबाटै उनको हत्या भएको आशंकामा दिनोका श्रीमान वीरबहादुर राजवंशीमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

तर, पुष्टि हुन सकेन । दिनोको अनुसन्धान पूरा नहुँदै मुकुन्द रिजाल सरुवा भएर गए । त्यसपछि आएका रुगम कुँवरले त्यस फाइललाई खोल्ने प्रयास गरेका थिए ।

यसअघि हत्या मात्र भएको बताइएकोमा कुँवरले बलात्कारपछि हत्या भएको पुष्टि गराए । उनले केही शंकास्पद व्यक्तिलाई सोधपुछ गरे पनि प्रमाणसहित पक्राउ गर्न सकेनन् ।

त्यसपछि आएका सुरज कार्की र प्रकाश विष्टले दिनोको फाइल नै खोलेनन् । चारजना डिएसपीले दिनोको अपराधीलाई पक्राउ गर्न नसकेपछि भर्खरै बिर्तामोड प्रहरीको कमाण्ड सम्हाल्न विजय श्रेष्ठ आइपुगेका छन् ।

उनले सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रभावकारी ढंगले लाग्ने बताएका छन् । आफूले दिनो राजवंशीको पुरानो फाइल खोल्ने प्रतिबद्धता जनाएका छन् ।

Adv footer