
मेचीनगर, बैशाख २४ । झापाको मेचीनगरस्थित धुलाबारी मोडदेखि थोप्लेविरान वनसम्म निर्माणाधीन सडकअन्तर्गत धुलाबारी बजार क्षेत्र झन् साँघुरो बनाइने भएको छ ।
बजार क्षेत्रमा फुटपाथ र नालासहित सडक फराकिलो बनाइनुपर्नेमा स्थानीय घरधनीको दबाबका कारण नगरपालिकाले सडक विस्तार नगर्ने ‘लाचार’ निर्णय गरेको हो ।
अहिलेकै डिजाइनमा सडक निर्माण गर्दा धुलाबारी मोड उत्तरतर्फको बजार क्षेत्रका घरहरुको केही भाग भत्किन सक्ने भएकाले डिजाइन संशोधन गर्ने मेचीनगर नगरपालिकाले निर्णय गरेको हो ।
धुलाबारी मोडदेखि उत्तरतर्फ झन्डै १२ सय मिटर डिजाइन संशोधन गरी सडक झन् साँघुरो बनाइन लागेको हो । यसअघि पनि बजार क्षेत्रमा सडकलाई साँघुरो पारेर निर्माण सुरु गरिएको थियो ।
नेपाल सहरी शासकीय तथा पूर्वाधार अयोेजनाको अनुदान सहयोगमा धुलाबारी मोडदेखि उत्तरतर्फ ५ किलोमिटर ४७० मिटर सडक धमाधम निर्माण भइरहेको छ ।
मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने सहिद मार्गअन्तर्गत मेचीनगर ९ को आधारभागमा कालोपत्रे भइसकेको छ । वडा नम्बर १० को बजार क्षेत्रमा भने संरचना भत्काइनुपर्ने भएपछि सडक निर्माणमा अवरोध हुँदै आएको छ ।
यसअघि निर्माण सुरु हुँदा पहिलो खण्डअन्तर्गत धुलाबारी मोडबाट २७० मिटर उत्तरसम्म नालासहित १२ मिटर ६० सेन्टिमिटर चौडाइ, दोस्रो खण्डमा १५९० मिटर क्षेत्रमा नालासहित १३ मिटर २० सेन्टिमिटर चौडाइ र तेस्रो खण्डमा बाँकी रहेको अर्थात ३ किलोमिटर ६१० मिटर क्षेत्रमा सडकको चौडाइ नालासहित १८ मिटर हुने गरी डिजाइन गरिएको थियो ।
यसअघि नै बजार क्षेत्रमा सडकको चौडाइ साँधुरो बनाइएको थियो । नगरपालिकाको पछिल्लो निर्णयले धुलाबारीको मुख्य बजार क्षेत्रको सडकको चौडाइ थप साँघुरो हुने भएको छ ।
कञ्चन निर्माण सेवासँग २७ करोड २१ लाख ३ हजार ९३१ रुपैयाँमा निर्माण सम्झौता भएको सहिद मार्गको सो सडक २०८२ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।