
मेचीनगर, बैशाख २४ । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै इलामको रेडहर्स एफसी झापाको मेचीनगर जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा धरान सिटी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै रेडहर्स इलाम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
रेडहर्सका लागि दिपेश राईले खेलको ४१ औँ मिनेट र सन्देश खवासले ६८ औँ मिनेटमा गोल गरे । धरानका लागि खेलको ८२ औँ मिनेटमा मिजास लिम्बूले एक गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच रेडहर्सका दिपेश राई भए । उनलाई बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नगद २५०० र ट्रफी प्रदान गरे ।
भोलिको खेल आयोजक जोरसिमल युवा क्लब र उर्लाबारी एफसी मोरङबीच हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।
पूर्वका ८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगितामा प्लेयर अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५०० प्राप्त गर्नेछन् । अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।