
बिर्तामोड, बैशाख २५ । अहिलेका व्यस्त तथा चलेका गायक प्रमोद खरेल ‘भ्वाइस किड्स’ चौथो सिजनको कोचको रुपमा देखिने भएका छन् ।
यही मे २० तारिखदेखि ब्लाइन्ड अडिसनको छायांकन सुरु हुने तयारीमा रहेको ‘भ्वाइस किड्स’ मा गायक प्रमोद दोहोरिने भएको निर्माण पक्षले पुष्टि गरेको छ ।
सो निर्देशक लक्ष्मण पौड्यालले कोचको रुपमा प्रमोदले निरन्तरता दिने बताए । ‘अहिलेसम्म उहाँ कोचमा पक्कापक्की नै हो’ निर्देशक पौड्यालले भने ।
सुरुवातदेखि लगातार ‘भ्वाइस अफ नेपाल’ को कोचको रुपमा देखिएका प्रमोद छैटौँ सिजनमा भने देखिएनन् । त्यतिबेला उनले एक सिजनलाई विश्राम लिएको बताएका थिए ।
कोचको रुपमा नहुँदा पनि दर्शकले प्रमोदको खोजी गरिरहे । उनको माग भइरह्यो । ‘भ्वाइस अफ नेपाल’ को छैटौँ सिजन यसैसाता सकिएको छ र निर्माता किड्स संस्करण ल्याउने तयारीमा छन् ।
पौड्यालका अनुसार मेलिना राई र खेम सेन्च्युरी पनि कोचको रुपमा देखिनेछन् । यद्यपि, यी कोचबारे औपचारिक घोषणा हुन बाँकी छ । अर्का एक कोच तय हुन बाँकी रहेको जनाइएको छ ।
‘भ्वाइस किड्स’को यो सिजनमा नेपाल, भारत र विभिन्न देशबाट समेत बालबालिकाले आवेदन दिएको निर्देशक पौड्यालले बताए । ब्लाइन्ड अडिसनमा एकजना कोचको समूहमा १२ जना प्रतिस्पर्धी हुनेछन् ।