
बिर्तामोड, बैशाख २५ । सशस्त्र प्रहरीले झापाको अर्जुनधारास्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको इलाकाबाट १२ लाख ५० हजार रुपैयाँबराबरको अवैध काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापा मातहत रहेको सुरक्षा बेस खुदुनाबारीको टोलीले आज दिउँसो ३ः३० बजे अर्जुनधारा-४ खुड्किलो भन्ने स्थानबाट अवैध सालको काठ बरामद गरेको हो ।
कनकाई सबडिभिजन कार्यालय सुरुङ्गा, दहीझोडा वन समूह र सशस्त्र प्रहरी नायव निरीक्षक भानुभक्त विकको संयुक्त टोली लुकाएर राखेको साढे १२ लाख रुपैयाँको काठ बरामद गरेको हो ।
अन्दाजी ३५० क्युफिट सालको गोलिया काठ बरामद गरी आवश्यक कारबाहीको लागि दहीझोडा सामुदायिक वनको कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका निमित्त गणपति एवम् सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।