
मेचीनगर, बैशाख २५ । आयोजक जोरसिमल युथ क्लब झापाको मेचीनगरस्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङले आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा आयोजकसँग ४–१ गोल अन्तर पराजय भोग्नु परेको हो ।
खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेलको १२ औँ मिनेटमा राम थापाले गोल गरे ।
आयोजकका तर्फबाट खेलको ४८ औँ मिनेटमा अरुण मेचेले बराबरी गोल फर्काए । त्यस्तै, ७० औँ मिनेटमा अभिनास चौधरी, ८२ औँ मिनेटमा मेचेले व्यक्तिगत दोस्रो गोल गरे भने ८४ औँ मिनेटमा विवेक राजवंशीले चौथो गोल गरे ।
खेलको प्लेयर अफ द म्याच दुई गोलकर्ता मेचे भए । उनलाई मेचीनगरका प्रवक्ता दिपक बराल, नगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझा, झापा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष चन्द्र प्रसाईंलगायतले नगद २५०० र ट्रफी प्रदान गरे ।
अन्तिम क्वार्टर फाइनल खेल भोलि बेलबारी एफसी र युनाइटेड कर्साङ एफसी भारतबीच हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगितामा प्लेयर अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५०० प्राप्त गर्नेछन् । त्यस्तै, अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।