
बिर्तामोड, बैशाख २६ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति चयन गर्ने प्रथम अधिवेशन सकिए पनि निर्वाचन भने लम्बिएको छ ।
अध्यक्ष र सहसचिवमा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी र सदस्यमा आवश्यकभन्दा बढी सदस्यको उम्मेदवारी दर्ता भएपछि सहमतिको प्रयास जारी रहेको संघका द्वितीय उपाध्यक्ष कर्णबहादुर पौडेलले बताए ।
प्रथम अधिवेशनबाट अध्यक्षमा हालका अध्यक्ष धनबहादुर पन्धाक र सहसचिवमा सरिता बराल निर्विरोध निर्वाचित भइसकेका छन् । प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षमा तीनतीनजनाको उम्मेदवारी परेको छ ।
प्रथम उपाध्यक्षमा अजय देव, राजन सिलवाल र नारायण कोइरालाको उम्मेदवारी परेको छ । त्यस्तै, द्वितीय उपाध्यक्षमा कर्णबहादुर पौडेल, अञ्जु लामिछाने र प्रकाश राईले उम्मेदवारी दिएका छन् ।
द्वितीय उपाध्यक्षमा यसअघिका कर्णबहादुर पौडेल दोहोरिने सदस्यहरुको भनाइ छ । संघमा लोकप्रिय र समन्वकारी भूमिकामा रहेकाले पौडेलको सम्भावना बलियो रहेको बताइन्छ ।
सचिवमा हालका सचिव सिपी पाठक, गौराीमान राई र निरन पोखरेलको उम्मेदवारी रहेको छ । कोषाध्यक्षमा कृष्ण खतिवडा, कुमार लिम्बू र विनोद राईले उम्मेदवारी दिएका छन् ।
नौजना सदस्यका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सहमति नभए निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुनेछ । संघमा १०५ जना सदस्य छन् ।