
बिर्तामोड, बैशाख २६ । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवम बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।
बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाएर आफू घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले जानकारी दिए । आत्महत्याबारे विस्तृत विवरण आउन बाँकी छ ।
५२ वर्षीय बस्नेतलाई आज बिहान १०ः३० बजे आफ्नै घरको आफू सुत्ने कोठाको सिलिङ फेनमा सलको पासो लागेर झुन्डिएको अवस्थामा आफन्तले देखेपछि पासो काटेर भुइँमा झारेका थिए ।
परिवारिक स्रोतका अनुसार बस्नेतले श्रीमती कोपिलालाई बिहान खाना पस्किन लगाएर आफू घरको माथिल्लो तलमा चढेका थिए । निक्कैबेर नआएपछि सहयोगी महिला खोजी गर्न जाँदा कोठा बन्द गरेको पाएपछि ढोका फोरेर हेर्दा उनी झुन्डिएको अवस्थामा भेटिएका थिए ।
१०ः४० बजे भुइँमा झारेर हेर्दा बस्नेतको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
बस्नेत दर्जनौँ सामाजिक तथा व्यावसायिक संघसंस्थामा आबद्ध थिए । स्वर्गीय कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका निवर्तमान अध्यक्ष, जेसिज पूर्वअध्यक्ष समाज झापाका निर्वतमान अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव रहेका थिए ।
उनी यामाहा मोटरसाइकलको बिक्रेता सयपत्री ट्रेड लिंक बिर्तामोडलगायत विभिन्न व्यापारिक प्रतिष्ठानका सञ्चालक समेत हुन् ।
अढाइ दशकदेखि जेसिज अभियानमा क्रियाशील उनी वीरता जेसिजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसिजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए ।
बस्नेतका श्रीमती र एक छोरी रहेका छन् । श्रीमती कोपिला खड्का बस्नेत अधिवक्ता हुन् भने एक मात्र छोरी विभूति विराटनगरमा एमबिबिएस अध्ययनरत छिन् ।