२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

निलसरी च्यालेन्ज कपः बेलबारी अन्तिम चारमा


मेचीनगर, बैशाख २६ । बेलबारी एफसी मोरङ झापाको मेचीनगरस्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ एफसी भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै बेलबारी अन्तिम चारमा प्रवेश गरेको हो ।

योसँगै बेलबारीले आइतबार सेमिफाइनलमा रेडहर्स एफसी इलामसँगको भेट पक्का गरेको छ । खेलमा सुरूवाती अग्रता युनाइटेड कर्साङ एफसीले लिएको थियो ।

युनाइटेड कर्साङका लागि खेलको ३० औँ मिनेटमा सदिस राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दुवै टिमले आक्रामक खेले पनि पहिलो हापमा थप गोल हुन सकेन ।

बेलबारीको तर्फबाट ४७ औँ मिनेटमा आशिष चापागाईं गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याए । खेलको ७५ औँ मिनेटमा आशिष चापागाईंले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित बनाए ।

आशिष चापागाईं प्लेयर अफ द म्याच भए । उनलाई आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद् अध्यक्ष रामबहादुर मगर, पूर्वअध्यक्ष ओमप्रकाश खापुङ, लोत्से इङलिस स्कुलका निर्देशक धनराज थापा मगर लगायतले नगद २५०० र ट्रफी प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल आयोजक युथ अफ जोरसिमल र झापा एफसी राजगढबीच हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगितामा प्लेयर अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५०० प्राप्त गर्नेछन् । त्यस्तै, अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।

Adv footer