
बिर्तामोड, बैशाख २९ । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनामा बचत खातामा औसत ब्याजदर ३.३९ प्रतिशत दिएका छन् । त्यस्तै, मुद्दती खातामा औसत ६.१० प्रतिशत ब्याजदर रहेको छ ।
चैत मसान्तसम्मको औसत तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने ब्याजदरको औसत ब्याजदर ४.४५ प्रतिशत रहेको छ ।
यस्तो लागत पछिल्लो वर्ष निरन्तर घट्दै गएको देखिन्छ । फागुन महिनामा ४.५४ प्रतिशत, माघमा ४.६२ प्रतिशत, पुसमा ४.७५ प्रतिशत, मंसिरमा ४.७८ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत, असोजमा ५.२४ प्रतिशत, भदौमा ५.४८ प्रतिशत र साउनमा ५.६६ प्रतिशत रहेको देखिन्छ ।
यसअघि २०७९ पुसमा यस्तो औसत लागत ८.५१ प्रतिशत थियो । त्यो समयमा ३ महिना अवधिको मुद्दती खाताको ब्याजदर नै ११.४३ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार तीन महिनादेखि ६ महिनाभन्दा कम अवधिको मुद्दती खातामा बैंकहरूले औसत ४.२८ प्रतिशत ब्याज दिने गरेका छन् ।
त्यस्तै, ६ महिनादेखि एक वर्षभन्दा कम अवधिको खातामा औसत ब्याजदर ४.६८ प्रतिशत रहेको देखिन्छ । एक वर्षदेखि २ वर्षभन्दा कम अवधिको खातामा औसतमा ५.७८ प्रतिशत ब्याज दिने गरिएको छ ।
२ वर्ष वा सोभन्दा बढी अवधिको मुद्दतीमा ९.७२ प्रतिशत ब्याज रहेको गरेको राष्ट्र बैंकको तथ्यांक छ । त्यस्तै, ब्याज पाउने संस्थागत बचत खातामा १.२३ प्रतिशत औसत ब्याजदर दिने गरिएको छ ।