
बिर्तामोड, बैशाख २९ । वैदेशिक रोजगार व्यवसायी संघ झापाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
बिर्तामोडमा आज आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरणसँगै उनीहरुलाई सपथ ग्रहण गराएको हो ।
निर्वाचन समिति संयोजक गोपाल लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिले निर्वाचनमा प्रयोग गरिएका सम्पूर्ण कागजात नवनिर्वाचित समितिलाई हस्तान्तरण गरेको छ ।
नवनिर्वाचित समितिले सपथ ग्रहण गरेसँगै निवर्तमान सचिव सिपी पाठकले नवनिर्वाचित सचिव निरकुमार खत्रीलाई संघको माइन्युट हस्तान्तरण गरेका थिए ।
माइन्युट हस्तान्तरणअघि निवर्तमान सचिव पाठकले कार्यक्रमको सञ्चालन गरेका थिए भने त्यसपछि नवनिर्वाचित सचिव खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित समितिले निर्वाचन समितिलाई प्रशंसापत्र प्रदान गरेको थियो । नवनिर्वाचित अध्यक्ष धनबहादुर पन्धाकले निर्वाचन संयोजक गोपाल लामिछाने, सदस्यद्वय एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेललाई कदरपत्र प्रदान गरेका थिए ।
निवर्तमान प्रथम उपाध्यक्ष अजयकुमार देवले स्वागत मन्तव्य राख्दै नवनिर्वाचित समितिलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा निवर्तमान द्वितीय उपाध्यक्ष कर्ण पौडेलले बधाई ज्ञापन गर्दै कार्यकाल सफल एवम् रचनात्मक बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष धनबहादुर पन्धाकले प्रतिबद्धता मन्तव्य राख्दै स्वास्थ्य बीमा, व्यावसायिक कर्जा, व्यवसायी राहत कोष लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए ।
गत बैशाख २७ गते भएको संघको ऐतिहासिक प्रथम अधिवेशनले अध्यक्षमा धनबहादुर पन्धाक र सहसचिव सरिता बराल सर्वसम्मत चयन भएका थिए ।
उपाध्यक्षमा राजन सिलवाल र प्रकाश राई, सचिवमा निरकुमार खत्री, कोषाध्यक्षमा कृष्ण खतिवडा निर्वाचित भएका थिए ।
त्यस्तै, पुष्पराज प्रसाईं, टंक सिटौला, ओमप्रकाश भट्टराई, देवेन्द्रप्रसाद प्रसाईं, राजेन्द्र पौडेल, प्रेम निरौला, कृष्णमाया तामाङ कुसुम, लुमनकुमारी निरौला निर्वाचित भए । दुर्गादेवी सुब्बा लिम्बू र हितेश अग्रवालको बराबर मत प्राप्त भएसँगै आधाआधा कार्यकाल रहने निर्णय भएको छ ।