
बिर्तामोड, बैशाख ३१ । घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज विक्रम राजवंशी प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधजन्य औषधि बिक्री गरेको आरोपमा जागिरबाट निकालिएका छन् ।
कचनकवल–१ मा घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक राजवंशीको सेवा करार सम्झौता खारेज गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
राजवंशीले सञ्चालन गर्दै आएको बाह्रदशी–५ फूलबारीको विक्रम विकास मेडिकलबाट प्रतिबन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधिहरु एन्टी कोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाले बैशाख १७ गते सो पसलबाट नियन्त्रित औषधिसहित राजवंशीकी श्रीमती ३९ वर्षीया बन्दना पोखरेल पक्राउ गरेको थियो ।
बैशाख २५ गते औषधि व्यवस्था विभागको अनुगमन टोली फार्मेसीमा स्थलगत निरीक्षणका लागि जाँदा उनी कार्यस्थलमा उपस्थित थिएनन् । सोही दिन गाउँपालिकाको स्वास्थ्य शाखालाई टेलिफोनमार्फत राजवंशीको विवरण माग गरिएको थियो ।
त्यसपछि गाउँपालिकाले सोही दिनभित्रै फार्मेसीको दर्ता तथा सञ्चालनसम्बन्धी कागजात पेस गर्न पत्राचार गरे पनि बैशाख २८ गतेसम्म राजवंशीले कुनै स्पष्टीकरण पेस गरेका थिएनन् ।
स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० को दफा ७७ विपरीत व्यवसाय दर्ता गरी सञ्चालन गरेको र ऐनको दफा ९५(२) तथा सेवा करार सम्झौताको बुँदा ७ को उल्लंघन गरेको ठहर गर्दै गाउँपालिकाले उनको सेवा करार सम्झौता खारेज गरेको हो ।