२०८२ बैशाख ३१ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिमा धमाधम बन्दै बृहत सिँचाइ परियोजना


बिर्तामोड, बैशाख ३१ । झापाको बुद्धशान्तिमा धमाधम काम भइरहेको बृहत सिँचाइ परियोजनाबाट ३०० घरधुरीले प्रत्यक्ष लाभ लिने भएका छन् । परियोजनाको झन्डै ५० प्रतिशत काम सकिएको जनाइएको छ ।

बुद्धशान्ति–३ (साबिक बुधबारे–७) पश्चिममा रहेको झिलमिले खोलामा कोशी प्रदेश सिँचाइ मन्त्रालयमार्फत ४० लाख र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय झापाबाट २८ लाख रुपैयाँको बजेटबाट धमाधम काम सुरु गरिएको छ ।

झिलमिले मुहान बिरिङ तटबन्ध सिँचाइ जल उपभोक्ता संस्था बुद्धशान्ति–३ ले जलस्रोत तथा सिँचाइ विकास डिभिजनको समन्वयमा धमाधम काम गरिरहेको छ ।

बैशाख ८ गते परियोजनाको सम्झौता गरी असारको तेस्रो सातासम्म सम्पन्न गर्नेगरी काम गरिँदैछ । उक्त काम ठेक्का नलगाई समितिमार्फत नै गराउँदै आइएको छ ।

ठेक्काभन्दा समितिमार्फत नै गराउँदा काम राम्रो, गुणस्तर र छिटो सम्पन्न हुने भएकाले समितिमार्फत नै काम गरिरहेको संस्थाका अध्यक्ष छत्रबहादुर विष्टले बताए ।

निर्माण हुँदै गरेको मुहानबाट बग्ने पानी छिमेकी पालिका मेचीनगर १२ को सिमानासम्म पुग्ने अध्यक्ष विष्टले बताए । उनका अनुसार सिँचाइको कठिनाइले बर्सेनि समस्या भोग्दै आएका करिब ३०० घरधुरी र ५०० बिघाभन्दा बढी जग्गा क्षेत्रफलमा अब सहज रुपमा सिँचाइ हुनेछ ।

यसअघि आर्थिक वर्ष २०७९-८० मा कोशी प्रदेश सरकारसँगको पहलमा ५२ लाख रुपैयाँको बजेटबाट करिब १७०० मिटर नाला बनाइएको थियो ।

झापामा अन्नको भण्डारका रुपमा चिनिने बुद्धशान्ति धान खेतीका लागि उर्वर भूमि मानिन्छ । विशेषगरी निर्माण हुँदै गरेको क्षेत्रमा पनि धान र मकै खेती गरिँदै आएको छ ।

संस्थाका अध्यक्ष विष्टले परियोजना ल्याउन पहल गर्ने कोशी प्रदेशसभा सदस्य तिलचन पाठक, सिपी कडरिया, खगेन्द्र मैनाली, गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा, वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, जिल्ला सिँचाइ डिभिजन प्रमुख शैलेश पोखरेल, जग्गादाता कृष्ण ढकाल, मञ्जुश्री ढकाल, निर्माण सहयोगी अच्युतराज ढकाल लगायतलाई विशेष धन्यवाद दिएका छन् ।

Adv footer