
मेचीनगर, बैशाख ३१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झापाको मेचीनगरबाट अवैध वित्तीय कारोबारमा संलग्न सातजना व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

ब्युरोको विशेष टोलीले आज धुलाबारी बजारबाट उनीहरुलाई पक्राउ गरेर काठमाडौँ लगेको विशेष स्रोतले जानकारी दिएको छ । उनीहरुले २७ अर्ब रुपैयाँको अवैध हुन्डी कारोबार गरेको बताइएको छ ।

उनीहरु निकट व्यापारीहरुका अनुसार पक्राउ परेका सातजना चीनबाट सामान आयातका संलग्न थिए । त्यस्तै, उनीहरु हुन्डीलगायत सट्टाबाजीमा पनि जोडिएको ब्युरोले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा कविस मारु, अनुज मारु, निर्मल राई, दिपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राई रहेका छन् ।

उनीहरुले गिफ्टोरियम नामक आयात निर्यातको कारोबार गर्दै आएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

पक्राउ परेकाहरूले अवैध कारोबार गरी नेपालमा ठुलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ । उनीहरुले अर्बौंको अवैध कारोबार गरेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरुबाट बरामद भएको रकमबारे खुलिसकेको छैन । सिआइबीको टोली पक्राउ गर्न झापा आएको र पक्राउ गरेर काठमाडौँ लाँदै गरेको प्रवक्ता खड्काले बताए ।
पक्राउ परेका ती व्यक्तिहरुबाट बरामद भएको रकम काठमाडौँ ल्याइसकेपछि मात्र थाहा हुने उनले जानकारी दिए ।