२०८२ जेठ २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पाडाजुँगीमा एपिएफ स्कुलको शिलान्यास, अर्को वर्षदेखि सञ्चालनमा आउने


बिर्तामोड, जेठ २ । झापाको कमल गाउँपालिकास्थित पाडाजुँगीमा कोशी प्रदेशकै नमुना स्कुलको रुपमा स्थापित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल (एपिएफ) स्कुलको शिलन्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापाको भोगाधिकार रहेको जमिनमा एपिएफ स्कुलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रबाट सो स्कुल सञ्चालन हुने शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

देशको सबै प्रदेशहरुमा स्थापना गर्ने उद्देश्यअनुरुप हाल ४ ठाउँमा विद्यालय स्थापना भइसकेको छ । त्यसक्रममा कोशी प्रदेशअन्तर्गत पाडाजुँगीमा स्थापना गर्न लागिएको हो ।

मुनाफारहित शैक्षिक संस्थाको रुपमा स्थापना भएको यस स्कुलको मुल उद्धेश्य बहालवाला, कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त, अशक्त, अवकाश प्राप्त सशस्त्र प्रहरीका सन्ततिहरुलाई शिक्षा दिने रहेको छ । साथै, अन्य सर्वसाधारणका सन्ततिहरु समेतलाई समयसापेक्ष आधुनिक र गुणस्तरीय शिक्षा प्रदान गरिने उप्रेतीले बताए ।

हाल प्रारम्भिक चरणमा सबै झापा जिल्लाका स्थानीय पालिकाहरु, प्रदेश सरकार लगायत अरु सरोकारवाला निकायसँग छलफल, सहकार्य, समन्वय भएको छ । कमल गाउँपालिकाको सहयोगमा स्कुलको डिपिआर तयार भएको छ ।

विद्यमान शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुरुप स्कुल स्थापना तथा सञ्चालनको स्वीकृतिको लागि स्कुल सञ्चालनको विनियमसहित कमल गाउँपालिकाको कार्यालयमा निवेदन पेश भएको जनाइएको छ ।

आगामी आर्थिक वर्षबाट यस स्कुलले कक्षा ४ र ५ बाट आवासीय विद्यालयको रुपमा सञ्चालनमा ल्याउने भएको छ । साथै, भौतिक पूर्वाधारहरु निर्माण गरी आवश्यकताअनुसार थप्दै जाने र कक्षा १२ सम्म सञ्चालनमा आउनेछ ।

‘मानव उत्कृष्टताको लागि शिक्षा मानव स्वस्थताका लागि खेलकुद’ नारा बोकेर स्थापना हुन लागेको यस स्कुलले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिई राष्ट्र निर्माणमा सुयोग्य, अनुशासित र उत्पादनशील नागरिक तयार गरी कोशी प्रदेशकै नमुना स्कुलको रुपमा स्थापित गर्ने उद्देश्य लिएको उप्रेतीले जानकारी दिए ।

Adv footer