
बिर्तामोड, जेठ ४ । झापा बिर्तामोडका उद्योगी तथा व्यवसायी निर्मल भट्टराई निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएका छन् । महासंघको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनी केन्द्रीय सदस्य चयन भएका हुन् ।

नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले एभरेस्ट लार्ज कार्डमम उद्योग प्रालिमार्फत भारतलगायत तेस्रो मुलुकमा अलैँचीका मसलाजन्य विभिन्न उत्पादन निर्यात गर्दै आएका छन् ।

उनी गोविन्दप्रसाद घिमिरे नेतृत्वको दुई वर्षे कार्यकालका लागि अधिवेशनबाट वस्तुगत केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । भट्टराईले निर्यात प्रवर्द्धन, सदस्य हितको संरक्षण, नीति पैरवीका साथै महासंघको संस्थागत सुदृढीकरणमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा भद्रपुरका देवानन्द सरावगी, वस्तुगत उपाध्यक्षमा किरणकुमार डंगोल, एसोसिएट उपाध्यक्षमा शान्ता बास्कोटा निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा शिवप्रसाद भट्ट, सचिवमा प्रदिप शाही, महिला सचिवमा रेखा अर्याल, कोषाध्यक्षमा शैलेन्द्र गुरागाईं र सहकोषाध्यक्षमा पुनम कार्की चयन भएका छन् ।

सदस्य वस्तुगततर्फ रुद्रप्रसाद न्यौपाने, मनोजकुमार चापागाईं, होमप्रसाद घिमिरे, राजेन्द्र संग्रौला र सुनिल चित्रकार छन् । एसोसिएटतर्फ अजयसिंह कार्की, उरुषा चापागाईं, मनोज अधिकारी, नारायणकृष्ण खरेल, दावा शेर्पा र नानीराज घिमिरे छन् ।
अधिवेशनकै अवसरमा बिर्तामोडका अलैँची व्यवसायी भरतलाल चौधरीलाई उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।
