
बिर्तामोड, जेठ ४ । झापाका दुईजना मुक्केबाज महिलाले एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । उनीहरु सेमिफाइनलमा पराजित भए ।

झापा भद्रपुरकी त्रिसा जवेगूले ८१ केजीमाथि र नरिका राईले ६० केजी तौल समूहमा कास्य पदक जितेका हुन् । नरिकाले यसअघि दुबईमा भएको युथ समूहमा पनि कास्य पदक जितेकी थिइन् ।

नवौँ राष्ट्रिय खेलकुदकी स्वर्ण पदकधारी जवेगू पहिलोपटक च्याम्पियनसिपमा सहभागी भएकी हुन् । च्याम्पियनसिपमा नेपालका लागि राई र जवेगूले मात्र पदक जितेका हुन् ।

आज श्रीलंकाको कोलोम्बोमा भएको सेमिफाइनल खेलमा राई ताजिकिस्तानकी ह्याङ्गोमा आइसोएभासँग पराजित भइन् । त्यस्तै, जवेगू भारतकी पायल जखरसँग पराजित भइन् ।
