२०८२ जेठ ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अझै बनेन दुई बर्षअघि भासिएको बिरिङको पुल


बिर्तामोड, जेठ ५ । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको बिर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।

स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।’

हिउँदमा सवारी साधन आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनुपर्ने स्थानीयबासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ ।

अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईंले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले संघीय सरकारसँग अनुरोध गरेको बताए ।

‘सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ’, उनले भने, ‘उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौँ ।’

नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उनले संघीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ ।

२०६५ सालमा भारत सरकारको दुई करोड रुपैयाँको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।

सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपिन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए । सो क्षेत्र सभामुख देवराज घिमिरे र कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापाको हो ।

Adv footer