२०८२ जेठ ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड युनाइटेडलाई धनकुटामा रारा गोल्डकपको उपाधि


बिर्तामोड, जेठ ५ । झापाको बिर्तामोड युनाइटेड एफसी धनकुटाको राजारानीमा आयोजित १२औँ रारा गोल्डकपको च्याम्पियन बनेको छ । मोरङ बेलबारीको एलएक्स सिटी एफसीलाई २-१ गोलले पराजित गर्दै बिर्तामोड युनाइटेड १२औँ संस्करणको विजेता बनेको हो ।

बिर्तामोडका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । एलएक्स सिटीका लागि खेलको अन्तिम सेकेण्डमा अनुज गैरेले सान्त्वना गोल गरे ।

एकोहोरो दबाब सिर्जना गरेको अवस्थामा बिर्तामोडका आशिष चापागाईंले पहिलो गोल खेलको ४२औँ मिनेटमा गरेका हुन् । करिब ३५ यार्डको दूरीबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो ।

यसैगरी, दोस्रो गोल खेलको ७६औँ मिनेटमा विपक्षीको बक्समा पाएको क्रस पासमा आशिषले गोल गरेका हुन् । खेलको अन्त्यमा एलएक्स सिटीले गोल फर्काए पनि टिम खेलमा फर्कन पर्याप्त समय थिएन ।

खेलकाे प्लेयर अफ द म्याच बिर्तामाेडका आशिष चापागाईं भए । उनले नगद ७ हजार ५ सय र ट्रफी प्राप्त गरे । उत्कृष्ट गाेलरक्षक बिर्तामाेडकै अभिषेक बराल भए । अभिषेक बरालले नगद १० हजार प्राप्त गरे ।

यसैगरी, उदीयमान खेलाडी रारा एफसीका प्रतिक मगर भए । सर्वाधिक गाेलकर्ता बिर्तामाेडका माैसम लिम्बू भए । उनीहरूले जनही १०-१० हजार प्राप्त गरे । गाेल्डकपकाे सर्वाेत्कृष्ट खेलाडी एलएक्स सिटी माेरङका देवेन्द्र तामाङ भए । उनले नगद २५ हजार पाए ।

राजारानी एफसी धनकुटाले आयोजना गरेको गोल्डकपको विजेता बिर्तामोड युनाइटेडले नगद ७ लाख र आकर्षक ट्रफी पाउँदा उपविजेतामा समेटिएको एलएक्स सिटी बेलबारीले नगद ३ लाखमा चित्त बुझाएको छ ।

Adv footer