
बिर्तामोड, जेठ ६ । भन्सार पास भएर आएका कन्टेनरलाई नियन्त्रणमा लिएपछि मेची भन्सार कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाबीच विवाद सुरु भएको छ ।

प्रहरीले अवैध भनेको कन्टेनरसहितको मालसामान मेची भन्सारले सबै प्रक्रिया पूरा गरेर नेपाल भित्र्याएको जनाएपछि विवाद उत्पन्न भएको हो । मेची भन्सार कार्यालय र प्रहरीबिच वेलावेला यसैगरी विवाद उत्पन्न हुँदै आएको छ ।

भन्सार पास भएर आएका तीनवटा कन्टेनरलाई जिल्ला प्रहरी कार्यालय झापाले आइतबार राति बिर्तामोडबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले भारतबाट अवैध रूपमा भित्रिएको तीन करोड ६१ लाख रुपैयाँबराबरको मालसामानसहित तीनवटा भारतीय नम्बरका कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले तीनवटा कन्टेनर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको बताए ।

एनएल ०१ एच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरलाई विशेष सूचनाका आधारमा कृषि सामग्री ट्र्याक कम्बाइन हार्भेस्टर फेला परेको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार तत्कालको सूचनाका आधारमा उक्त सामग्री अवैध भएकाले पक्राउ गरिएको हो । बरामद कृषि सामग्रीको मूल्य करिब तीन करोड ६१ लाख रूपैयाँ बराबर रहेको प्रारम्भिक अनुमान गरिएको उनले बताए । प्रहरीले उक्त सामग्री भारतबाट मेची भन्सार हुँदै नेपाल भित्र्याइएको दाबी गरेको छ ।
यद्यपि, मेची भन्सार कार्यालयले भने कन्टेनरसहितको सामग्री अवैध नभएको दाबी गरेको छ । प्रहरीले भन्सारलाई बदनाम गर्न ज्यादती गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख रामचन्द्र ढुंगानाको आरोप छ ।
प्रहरीले भारतबाट आएको भने पनि उक्त सामग्री चीनबाट आएको उनको दाबी छ । सो सामग्री झापाको कनकाई नगरपालिकास्थित सुरुंगाको एउटा कृषि फर्मले एलसी खोलेर चीनबाट ल्याएको भन्सारको भनाइ छ ।
चीनबाट आएको सो कृषि सामग्रीमा १ प्रतिशत मात्र भन्सार लाग्छ । यही प्रक्रिया पूरा गरेर ल्याएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठ पनि कन्टेनर विवादित भएको स्वीकार गर्छन् । तर, प्रहरीलाई आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
प्रहरीले कन्टेनर सोमबार मात्र राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख उत्तमकुमार घिमिरेले जानकारी दिए । यद्यपि, प्रारम्भिक चरणमा हेर्दा भन्सारबाट प्रक्रिया पूरा भएर नेपाल भित्रिएको पाइएको उनले बताए ।