२०८२ जेठ ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो


बिर्तामोड, जेठ ७ । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्यसंस्थाप्रति नगरबासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे ।

तर, अहिले अवस्था फेरिएको छ । सुविधासम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरबासीको आकर्षण बढ्न थालेको छ । नगर अस्पतालको सेवामा विविधतासँगै सुविधासम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सयजनाले सेवा लिन थालेका छन् ।

स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् । “चौबीसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ”, उनले भनिन्, “नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ ।”

निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको नगरप्रमुख प्रसाईंले बताइन् । अहिले नगर अस्पताल १५ शैय्याको छ । यसलाई २५ शैय्याको बनाउने लक्ष्य रहेको छ ।

नगर अस्पतालबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेका नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । अस्पतालले चाँडै डायलाइसिस सेवा सञ्चालन गर्न लागेको छ । “६ वटा डायलाइसिस मेसिन दाताबाट प्राप्त भएको छ”, उनले भने ।

नगरपालिकामा एक नगर अस्पताल र आठ वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । तीन करोड ९६ लाख रुपैयाँको लागतमा आठवटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन् ।

१५ करोड ३४ हजार रुपैयाँको लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको नगरप्रमुख प्रसाईंले बताइन् । भवन निर्माण भएपछि १५ शैय्याबाट २५ शैय्यामा स्तरोन्नति गरिनेछ ।

आधारभूत स्वास्थ्य केन्द्रबाट १२७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले बताए । नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत हालसम्ममा ८९ हजार ७६४ जनाले स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ ।

बिर्तामोड नगर क्षेत्रमा घरमा प्रसूति गराउनेको दर ‘शून्य’ मा झरेको प्रमुख विष्टले बताए । नगर अस्पतालमा बिहान ७ बजेदेखिबेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ । अस्पतालमा चिकित्सकसहित ६० जनाको जनशक्ति रहेको छ ।

Adv footer