२०८२ जेठ ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिमा बिरामी हात्ती मृत भेटियो


बिर्तामोड, जेठ ७ । झापा बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा एउटा जंगली हात्ती मृत अवस्थाको भेटिएको छ । करिब दुई महिनाअघि घाइते अवस्थामा भेटिएको सोही हात्ती मृत भेटिएको हो ।

‘घुमन्ते गज’ नामको रैथाने जंगली हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज दिउँसो २ बजे पाँचपोखरी सामुदायिक वन क्षेत्रभित्र वनका हेरालुले ड्युटी गर्दै जाने क्रममा अन्दाजी ४० वर्षको भाले हात्ती मृत भेटेका थिए ।

अस्थायी प्रहरी चौकी मंगलबारे र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरी टोलीले खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।

त्यस्तै, डिभिजन वन कार्यालयका डिभिजन प्रमुख भरतबाबु श्रेष्ठ, वन अधिकृत सुरज निरौला, पशु चिकित्सक डक्टर सोनाम भालसहितको टोली र कोशी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु प्राविधिक पुरुषोत्तम मुडवरीसहितको टोली आएको थियो ।

टोलीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमपछि सोही स्थानमा खाल्डो खनेर हात्ती गाडेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डिभिजन वन कार्यालयले लामो समयदेखि विरामी रहेको उक्त हात्तीलाई प्रकृति संरक्षण कोषबाट चिकित्सक ल्याएर उपचार गरेको थियो । मृत हात्तीको दाह्रा छैन । गत फागुन २९ गते मेचीनगरको तेलपानी सामुदायिक वन क्षेत्रमा सो हात्ती घाइते अवस्थामा भेटिएको थियो ।

झापामा यसअघि गत फागुन २९ गते कचनकवल–७ को पाथिभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा भेटिएको थियो ।

Adv footer