बिर्तामोड, जेठ ८ । काँकरभिट्टाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।
कार्यालयको तथ्यांकअनुसार तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार रुपैयाँबराबरको चिया निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८०–८१ को सोही अवधिमा दुई अर्ब ५२ करोड १० लाख १४ हजार रुपैयाँबराबरको चिया निर्यात भएको थियो ।
कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म अलैँची निर्यात ३.६० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दस महिनामा छ अर्ब ६६ करोड २५ लाख ४५ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा छ अर्ब ९० करोड ९४ लाख ४८ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको थियो ।
भेनियर सिट ७९ प्रतिशत, फलामे पाता ७.७०, सिआर सिट ६२.२० प्रतिशत र मोलासिस निर्यातमा ८४४.३० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, सिमेन्ट क्लिंकर ३.९० प्रतिशत, छुर्पी १६.२० प्रतिशत, अदुवा ५९.४० प्रतिशत, अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ ।
मेची भन्सारबाट चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।