
बिर्तामोड, जेठ ९ । यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमै सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको छ । यसले तराईमा बाढीको खतरा बढ्नेछ ।
नेपालको भौगोलिक बनावट अनुसार हिमाली र पहाडी क्षेत्रबाट पर्ने पानी बगेर तल झर्ने भएकाले त्यसले तराई÷मधेशमा पनि जोखिम हुने सम्भावना देखाएको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको २०८२ सालको मनसुन प्रक्षेपण नक्सामा पूर्वदेखि पश्चिमसम्मका अरू सबै भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको संकेत गरेको छ ।
२०८२ सालको जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको मनसुन ऋतुगत वर्षाको आँकलन अनुसार सरदरभन्दा बढी वर्षा हुने सम्भावना ठाउँपिच्छे फरक–फरक छ ।
गण्डकी प्रदेशको अधिकांश भूभाग, कर्णाली प्रदेशको पूर्वी भूभाग र लुम्बिनी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी वरिष्ठ मौसमविद विभूति पोखरेल बताउँछिन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भूभाग, बागमती र कोशी प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
त्यस्तै, मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आँकलन छ । देशका बाँकी भूभागमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ ।
प्रि–मनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेको र मनसुनको सुरूवातमा हुने वर्षाले नै पहिरो जाने र गेग्रान बहाव बढाएर क्षति पुर्याउन सक्ने विभागकी वरिष्ठ मौसमविद पोखरेलको भनाइ छ ।