
बिर्तामोड, जेठ १० । झापा बिर्तामोडको दृष्टि आँखा अस्पतालले अदूर दृष्टि सचेतना सप्ताह (१९-२५ मे) अन्तर्गत बिर्तामोडमा दुईवटा कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ ।
नागरिकमा अदूर दृष्टिसम्बन्धी जागरुकता जगाउने उद्देश्यले साइकल र्याली र पैदल यात्रा कार्यक्रम गरिएको अस्पतालका अध्यक्ष राम उप्रेतीले जानकारी दिए ।
स्क्रिन डाउन, आई अप (पर्दा तल, आँखा माथि) भन्ने नाराका साथ आयोजित साइकल र्यालीमा ४० जना राइडरहरुको सहभागिता रहेको थियो । बिर्तामोडबाट सुरु भएको र्याली चारपाने अर्जुनधारा सालबारी बुट्टाबारी बिर्ताबजार हुँदै दृष्टि आँखा अस्पतालमा पुगेर अन्त्य भएको थियो ।
४५ जना सहभागी पैदल यात्रीहरुले मायोपियासम्बन्धी सचेतनामुलक प्ले कार्ड बोकेका थिए । पैदल यात्रामा अस्पतालका सञ्चालक, मेडिकल कर्मचारी तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बढ्दै गएको मायोपिया अर्थात अदूर दृष्टिका सम्बन्धमा व्यापक सचेतना जरुरी रहेको अस्पतालकी मेडिकल डाइरेक्टर डक्टर सविता पालिखेले बताइन् । उनले कार्यक्रमका सहभागीलाई स्वागत गरेकी थिइन् ।
अस्पतालका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
अस्पतालका दृष्टि विशेषज्ञ अजितकुमार ठाकुरले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमलाई नेपाल नेत्र चिकित्सा समाज, नेपाल नेत्र सहायक परिवार, नेपाली आँखा रोग विशेषज्ञ संघ र दृष्टि आइ केयर सिस्टमले सहयोग गरेका थिए ।