बिर्तामोड, जेठ १० । झापाको दमकमा भएको सडक दुर्घटनामा दुईजना घाइते भएका छन् । आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पाँचथर मिक्लाजुङ १ का ४१ वर्षीय अइन्द्रकुमार आङदेम्बे र सोही मोटरसाइकलमा पछाडि बसेका बाह्रदशी-४ का १९ वर्षीय रविन सोरेन घाइते भएका हुन् । आङदेम्बे बिर्तामोड-६ बस्दै आएका थिए ।
घाइते दुवैजनाको निम्स अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दमकको चियादोकान चोकस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको को. १ ख ७४५१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१७ प १९२३ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो ।
बस, मोटरसाइकल र बस चालक मोरङ सुन्दरहरैँचा १० बस्ने ४२ वर्षीय वीरबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।