
बिर्तामोड, जेठ १० । तेस्रो कोशी प्रदेशस्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ । ६ स्वर्णसहित ८ पदक जित्दै सुनसरी जिल्ला च्याम्पियन बनेको हो ।
झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा भएको दुई दिने प्रतियोगितामा झापा दोस्रो भयो भने उदयपुर तेस्रो भएको छ । च्याम्पियन बनेको सुनसरीले महिलातर्फ दुई स्वर्णसहित ६ स्वर्ण, १–१ रजत र कास्य पदक जितेको हो ।
दोस्रो भएको झापाले ३ स्वर्णसहित ८ पदक जितेको छ । जसमा महिलातर्फ एक र पुरुषतर्फ २ वटा स्वर्ण जितेको हो । त्यस्तै, ५ रजत र २ कास्य झापाले जितेको छ ।
तेस्रो स्थानमा रहेको उदयपुरले ३ स्वर्ण र २–२ रजत र कास्य पदक जितेको छ । जसमा एउटा स्वर्ण महिलातर्फ रहेको छ । धनकुटाले एक स्वर्ण, २–२ रजत र कास्य, पाँचौँ बनेको संखुवासभाले महिलातर्फ एक स्वर्ण र एक रजत जित्न सफल भयो ।
यसैगरी, महिलातर्फ एक मात्र स्वर्ण जितेको भोजपुर छैटौँ, २ रजत र १ कास्य जितेको इलाम सातौँ, ताप्लेजुङ र मोरङले समान १–१ रजत र कास्य जित्दै आठौँ स्थानमा रहे भने तेह्रथुम र ओखलढुंगाले १–१ कास्य जित्दै तालिकाको अन्तिममा रहे ।
प्रतियोगिताको महिलातर्फ बेस्ट बक्सर सुनसरीकी लादिप्मा राई भइन् । उनले ५० केजी तौल समूहबाट प्रतिस्पर्धा गरेकी थिइन् । पुरूषतर्फ बेस्ट बक्सर झापाका सचिन सुब्बा भए । उनले ४८ केजी तौलबाट प्रतिस्पर्धा गरेका थिए ।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजना, कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, अर्जुनधारा नगरपालिकाको सहयोग तथा झापा जिल्ला बक्सिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको समितिका कार्यालय प्रमुख विष्णु नेम्वाङले बताए ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, प्रदेश बोर्ड सदस्य मदन खड्का, अर्जुनधारा–८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्काले पुरस्कार वितरण गरेका थिए ।