
बिर्तामोड जेठ ११ । झापा बिर्तामोडका युवा व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एक लाख रुपैयाँको आर्थिक सहयोग गरेका छन् ।
उनले छुट्टाछुट्टै तीनवटा संस्थालाई एक लाख रुपैयाँ सहयोग गरेर जन्मदिन मनाएका हुन् । भट्टराईले बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषलाई ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, स्वच्छ समाजका लागि सामाजिक अभियानलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । भट्टराईले अभियानका संयोजक गणेश ढुङ्गाना तथा वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापालाई नगद प्रदान गरेका थिए ।
व्यवसायी भट्टराईले बिर्तामोड-५ स्थित त्रिवेणी टोलका बोनम्यारो रोगबाट ग्रसित चार वर्षीय बालक उज्ज्वल ठाकुरको परिवारलाई नगद २५ हजारसहित चामल, तेल, चिउरा लगायतका सामग्री प्रदान गरेका छन् ।
भट्टराई नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष, नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ट सदस्य रहेका छन् ।