
दमक, जेठ १० । झापाको शिवसताक्षीमा यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागु हुने भएको छ । शिवसताक्षी नगरपालिका कार्यालयमा स्थानीय पाठ्यक्रम प्रवोधिकरण कार्यशाला गराइएको छ ।
नगरपालिकाले कक्षा १ देखि ८ सम्मको लागि स्थानीय पाठ्क्रम तयार पारेको नगर शिक्षा अधिकृत छवि ढकालले जानकारी दिए । उक्त पाठ्यक्रमका विषयहरुमा कक्षा १ देखि ३ सम्मको शिक्षकहरुलाई प्रबोधिकरण गराइएको हो ।
पाठ्यक्रममा शिवसताक्षी नगरका भाषा, धर्म, सम्प्रदाय, संस्कृति, यहाँका मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र, पुराना मठ मन्दिर जस्ता विषयहरु समेटिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
स्थानीय इतिहास र संस्कृति, जातजाति, भाषा, परम्परागत पर्वहरू र चाडपवहरु, लोककला, लोकसंगीत, नृत्य र हस्तकलाहरू, मौलिक पोसाक, खानपान संस्कृति, भौगोलिक तथा पर्यावरणीय अवस्था, नगरपालिकाको भू–स्थिति, भूगोल र मौसम, स्थानीय नदी, जंगल, तथा जैविक विविधता, वातावरणीय संरक्षण र स्रोत व्यवस्थापन लगायत विद्यार्थीहरुलाई नगरको पहिचान, नगरभित्रका सबै विषयहरुलाई पाठक्रममा समावेश गरिएको हो ।
नगरभित्रका भूगोल, जनसंख्या, स्थानीय स्तरमा उत्पादन हुने वस्तु, यहाँ पाइने जडिबुटी लगायतका सबै विषयहरुलाई समावेश गरिएको स्थानीय पाठ्यक्रम मस्यौदा लेखन समितिका संयोजक श्रीप्रसाद खरेलले जानकारी दिए ।
प्रबोधिकरण कार्याशालाको उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय पाठ्यक्रमको शिवसताक्षी नगरमा छुट्टै महत्व रहेको जानकारी दिए ।
नगर भित्रका विद्यार्थीहरुले कम्तिमा पनि यहाँको भूगोल, जनसंख्या, भाषा, धर्म, संस्कृति लगायतका विषयहरु अध्ययन गर्न पाउनु पर्छ भन्ने मान्यताका आधारमा पाठ्क्रम निर्माण गरिएको छ ।
उनले भने, यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्ममा स्थानीय पाठ्क्रमको शिवसताक्षीको पहिचान नामक पुस्तक पठनपाठन सुरु गरिनेछ । वर्षेनी स्थानीय पाठ्यक्रमलाई माथिल्लो कक्षामा लागु गर्दै जाने नगरप्रमुखको भनाई थियो ।
कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्कीले शिवसताक्षीको चिनारी सहितको पाठ्क्रम यहाँका बालबालिहरुलाई शिक्षामा टेवा पुग्ने बताए । उनले नगरपालिकाले शिक्षामा ठुलो लगानी गरेको भन्दै विद्यार्थीहरुको क्षमताको पहिचान गरी नगरभित्रका रहेका शिक्षकहरुले अध्यापन गराउनु पर्ने बताए ।
स्थानीय पाठ्क्रमको प्रवोधिकरण कार्यशालाको सहजीकरण शिक्षक योन्जन सुनुवार र श्रीप्रसाद खरेलले गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्की, प्याप्सन शिवसताक्षी अध्यक्ष रामप्रसाद सुहाङ लगायतले शुभकामना राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी मिलन विष्टले गरेका थिए ।