
बिर्तामोड जेठ ११ । नेपाल पत्रकार महासंघ झापाले सात बुँदे मागसहित १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान सुरु गरेको छ ।
यसैक्रममा आज बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईं, हल्दिबारीका अध्यक्ष रविन्द्र लिङदेन र बाह्रदशीका अध्यक्ष देविन्द्र चम्लागाईंलाई ज्ञापनपत्र बुझाइएको हो ।
महासंघ अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, विनिशा शर्मा, सचिव राजु पाठक, सहसचिव रमेश तिवारी लगायतको टोलीले ज्ञापनपत्र बुझाएको सदस्य विनोद पाण्डेले जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै बिर्तामोड नगरप्रमुख प्रसाईंले नगरको स्रोत र साधनले भ्याएसम्म सञ्चार क्षेत्र तथा सञ्चारमाध्यमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
महासंघले पालिकामा सञ्चारसम्बन्धी आवश्यक नीति तथा सबै कानुनहरु सञ्चारमैत्री रुपमा निर्माण गरी एक वर्षभित्रमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै, सञ्चारमाध्यमहरुको संरक्षण, सञ्चालन र विकासका लागि स्थानीय सूचना तथा विज्ञापन, लोककल्याणकारी सन्देशमूलक विज्ञापन स्थानीय (जिल्लाभित्रका) सञ्चारमाध्यमलाई उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
त्यस्तै, पालिकामा रहेका सबै सञ्चारकर्मीको यसै वर्षबाट वार्षिक नवीकरण हुने गरी स्वास्थ्य बीमा गरिदिनुपर्ने, पत्रकारको सीप, क्षमता विकास तथा मिडिया साक्षरताका लागि पर्याप्त बजेट विनियोजन गरिदिनुपर्ने माग राखिएको छ ।
सञ्चारकर्मीको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा अनुदान सहयोग, पत्रकार महासंघको भौतिक विकास तथा सञ्चार उपकरण खरिदमा आवश्यक सहयोग प्रदान गरिदिनुपर्ने महासंघले माग गरेको छ ।
स्थानीय सरकारका असल अभ्यास तथा विकासका महत्वपूर्ण कामहरु बारे खोजमुलक अध्ययन र लेखनवृत्ति कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनको मागसहित महासंघले ज्ञापनपत्र बुझाएको छ ।