
बिर्तामोड जेठ ११ । झापा बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त समीक्षा कार्यक्रम तथा व्यावसायिक मौरीपालन सम्बन्धी तालिम प्रदान गरेको छ ।
सिम्रिक साकोसले आज बिर्तामोडमा एक दिने लघुवित्त समीक्षासहित मौरीपालन सम्बन्धी तालिमको आयोजना गरेको हो । साकोसले संस्थाद्वारा सञ्चालित लघुवित्त कार्यक्रमअन्तर्गतका सेवाकेन्द्रहरुका केन्द्र प्रमुखहरुसँग लघुवित्त कार्यक्रमबारे समीक्षा गरिएको हो ।
संस्थाका कोषाध्यक्ष मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रममा लघुवित्तको सुरुवात, आवश्यकताका विषयमा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सहभागीलाई जानकारी प्रदान गरेका थिए ।
त्यस्तै, संस्थाका नीति नियम तथा सञ्चालित बचतहरुका बारेमा आलेप विभाग प्रमुख दुर्गाप्रसाद रिजाल र कर्जा सदुपयोगिताका बारेमा लघुवित्त विभाग प्रमुख परमानन्द राजवंशीले विषयगत अन्तरक्रिया गर्दै प्रस्ट पारेका थिए ।
त्यस्तै, सतासी महिला मौरीपालन सहकारी संस्थाको व्यवस्थापक देवीमाया दाहालले मौरीपालनको विषयमा सहजीकरण गरेकी थिइन् । उनले मौरीपालनबाट व्यावसायिक बन्ने तरिका, फाइदा, मौरीलाई चाहिने वातावरण लगायतका बारेमा जानकारी दिएकी थिइन् ।
सदस्यलाई उद्यमसँग जोड्न मौरीपालन सम्बन्धी तालिम प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए । उनले सदस्यको आर्थिक अवस्था सुधार गर्दै व्यावसायिकतामा जोड्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।