२०८२ जेठ १४ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

गर्मी बढेसँगै आइसक्रिमको व्यापार उकालो


बिर्तामोड जेठ १३ । पछिल्लो समय घाम लागेर गर्मी बढेसँगै झापाका मुख्य सहर तथा ग्रामीण क्षेत्रहरुमा आइसक्रिमको व्यापार तथा कारोबार बढेको छ ।

गर्मीको कारण दैनिक विभिन्न स्वाद र किसिमका आइसक्रिम किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको बिर्तामोडको मनकामना आइसक्रिम उद्योगका सञ्चालक पदम बुढाथोकीले बताए ।

बिर्तामोडमा सबैभन्दा बढी स्वाद र प्रकारमा आइसक्रिम उत्पादन गर्दै आएको मनकामना आइसक्रिमका सञ्चालक बुढाथोकीका अनुसार बिर्तामोडसहित झापाको तापक्रम उच्च रहँदा आइसक्रिम बिक्री पनि बढेको छ ।

उद्योगबाट गर्मी बढेसँगै दुई दर्जनभन्दा बढी प्रकार र स्वादका आइसक्रिम तथा सम्बन्धित पदार्थ उत्पादन हुँदै आएको बुढाथोकीले बताए । उद्योगमा दैनिक तीन सय लिटर दूध खपत हुँदै आएकोमा बढेर पाँच सय लिटर भएको छ ।

प्रतिगोटा १० रुपैयाँदेखि २०० रुपैयाँसम्मका आइसक्रिम पाइने सो उद्योगमा आइसक्रिम पारखीहरु बालबालिकादेखि बृद्धसम्म सबै खाले मानिस रहेको बुढाथोकीले बताए ।

गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयबासीहरु अतिथि सदनअगाडि उद्योगमै आएर ठुलो मात्रामा आइसक्रिम लाने गरेको उनको भनाइ छ । पारखीहरु आइसक्रिम खाएर केहीबेर शीतल महसुस गर्दछन् ।

Adv footer