२०८२ जेठ १४ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

शनिश्चरे-खुदुनाबारीको भाँसिएको बिरिङ पुल प्रयोग नगर्न प्रशासनको आग्रह


बिर्तामोड जेठ १३ । झापाको बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक खण्डअन्तर्गत बिरिङ खोलामा भाँसिएको मोटरेवल पक्की पुल प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेको छ ।

दुई वर्षअघि भासिएको अझै बनेन झापाको बिरिङ पुल, जोखिमपूर्ण यात्रा भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सो पुल प्रयोग नगर्न आग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले पुलको विकल्प खाजेर सडक प्रयोग गर्न आग्रह गरेको छ ।

पुलको बारेमा झापा टुडेमा समाचार आएपछि प्रशासनले पूर्वाधार विकास आयोजना कार्यालय इटहरीलाई पत्राचार गरेको थियो । त्यसपछि आयोजनाले पुलको स्थलगत अवलोकन, अनुगमन गरी तयार गरेको प्रतिवेदन प्रशासन कार्यालयलाई बुझाएको थियो ।

बुझाएको प्रतिवेदनमा पुलको शनिश्चरे खण्डतर्फ अति जीर्ण रहेकोले सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाउनु पर्ने र संरचनात्मक क्षमता गुमाइसकेको संरचनाबाट सवारीसाधन आवागमन गर्दा जोखिम बढ्ने भएकोले पुल प्रयोग हुने अवस्था नरहेको उल्लेख छ ।

साथै, प्राविधिक रुपमा पुल मर्मत गरेर प्रयोगमा ल्याउन समेत उपयुक्त नभएको, विकल्पमा झन्डै २.२३ किलो मिटर दूरीमा रहेको सिस्ने–जयपुर सडकको पुल प्रयोग गर्न उपयुक्त रहेको वा इलामको माईतर्फ जानेआउने सवारी साधनले बिर्तामोड–लक्ष्मीपुर–सुखानी सडक प्रयोग गर्न सुगम रहेको प्रतिवेदनमा भनिएको छ ।

बहुवर्षीय स्रोत सहमति प्राप्त नभएका कारण यस आर्थिक वर्षमा ८५ लाख रुपैयाँ रकम विनियोजन भए पनि ठेक्का प्रक्रियामा जान नसकेको समेत प्रतिवेदनमा उल्लेख छ ।

Adv footer