
बिर्तामोड जेठ १३ । झापाको कनकाई–४ कोटीहवनस्थित कनकाई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृह निर्माण सुरु भएको छ ।

विद्युतीय शवदाह गृह निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

पूर्वाधार निर्माणपछि अन्य उपकरण लागत प्रदेश सरकारबाट प्राप्त हुने नगरप्रमुख पोखरेलले बताए । करिब एक करोड ५० लाख रुपैयाँको लागतमा शवदाह गृह निर्माण हुनेछ ।

विद्युतीय शवदाह गृह पूर्वाधार निर्माणका लागि सात सदस्यीय उपभोक्ता समिति र सात सदस्यीय अनुगमन समिति गठन गरी धमाधम काम सुरु गरिएको छ ।

कनकाई नगरपालिकाको १५ लाख र उपभोक्ता समूहको तर्फबाट एक लाख ८० हजार ७०९ रुपैयाँ गरी १६ लाख ८० हजार ७०९ रुपैयाँ लागतमा पूर्वाधार निर्माण सुरु भएको हो ।
बैशाख २८ गतेदेखि निर्माण सुरु भएको शवदाह गृहको पूर्वाधार निर्माण कार्य जेठ ३२ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको छ ।