
बिर्तामोड जेठ १४ । कोशी प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरेको १८ दिनपछि जिल्ला महासंघ पनि खारेज गरिदिएको छ ।


यसअघि कुबिरमान राई अध्यक्ष रहेको कोशी प्रदेश समिति भंग गरेर बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले बैशाख २४ गते प्रभाकर राना (रिक्की) लाई संयोजक तोक्दै नयाँ तदर्थ समिति बनाइदिएका थिए ।

बोर्डले जेठ १२ गते सूचना निकालेर कोशी प्रदेशका १४ वटै जिल्लामा रहेको नेपाल कराते महासंघ नेपालको शाखा खारेज गरिदिएको हो । जिल्लामा महासंघ गठन गर्नु विधानविपरीत भएको ठहर गर्दै संघ दर्ता गर्न बोर्डले आग्रह गरेको छ ।

संघ र प्रदेशमा महासंघ र जिल्लाहरुमा संघ मात्र दर्ता हुनसक्ने वैधानिक व्यवस्थाबारे जानकारी गराउँदै बोर्डले सबै जिल्लाका खेलकुद विकास समितिलाई पत्राचार समेत गरेको छ ।
यसैबीच, वैधानिक रूपमा चलिरहेको कोशी प्रदेश कार्यसमितिलाई बोर्डका सदस्य सचिव बस्नेतले अवैध भन्दै एकतर्फी रूपमा तदर्थ समिति गठन गरेपछि कराते महासंघ कोशी प्रदेशले कडा विरोध जनाएको थियो ।


नेपाल कराते महासंघ भने बैशाख २८ गते पत्र पठाएर कुबिरमान राई अध्यक्ष रहेको कार्यसमितिलाई नै आधिकारिक मान्यता प्रदान गरेको थियो ।

सदस्य सचिव बस्नेतले पदीय दुरुपयोग गरेर गठन गरेको ११ सदस्यीय तदर्थ समिति तत्कालं खारेज गर्न कराते महासंघ कोशी प्रदेशले जोडदार माग गर्दै आएको छ ।
