
बिर्तामोड, जेठ १५ । सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेश उप्रेतीलाई हार्ड क्वार्टरले सम्मान गरेको छ ।


झापाको कमल–५ पाडाजुँगीमा रहेको सशस्त्र प्रहरीको जवान तालिम शिक्षालयको भोगाधिकार रहेको जग्गामा एपिएफ स्कुलको स्थापनामा उप्रेतीले पुर्याएको योगदानको उच्च सम्मान गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।


विद्यालय स्थापनामा सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक उप्रेतीको दूरदर्शी कार्यले संस्थाको लक्ष्यलाई अगाडि बढाउन उत्कृष्टता र प्रेरणादायी भूमिका खेलेको भन्दै उप्रेतीलाई सशस्त्र प्रहरी बल नेपाललले सम्मान गरेको हो ।


कोशी प्रदेशकै नमुना स्कुलको रुपमा स्थापित गर्ने उद्देश्यले पाडाजुँगीमा एपिएफ स्कुल स्थापनाका लागि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले केही समयअघि सो स्कुलको शिलन्यास गरेका थिए ।

मुनाफारहित शैक्षिक संस्थाको रुपमा स्थापना गर्न लागिएको स्कुलको मुल उद्देश्य बहालवाला, कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त, अशक्त, अवकाश प्राप्त सशस्त्र प्रहरीका सन्ततिहरुलाई शिक्षा दिने रहेको छ ।


साथै, अन्य सर्वसाधारणका सन्ततिहरु समेतलाई समयसापेक्ष आधुनिक र गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । हाल प्रारम्भिक चरणमा सबै झापा जिल्लाका स्थानीय पालिकाहरु, प्रदेश सरकार लगायत अरु सरोकारवाला निकायसँग छलफल, सहकार्य, समन्वय भएको छ ।

आगामी शैक्षिकसत्रबाट स्कुलले कक्षा ४ र ५ बाट आवासीय विद्यालयको रुपमा सञ्चालनमा ल्याउने भएको छ । साथै, भौतिक पूर्वाधारहरु निर्माण गरी आवश्यकता अनुसार थप्दै जाने र कक्षा १२ सम्म सञ्चालनमा आउनेछ ।
