२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

बिर्तामोडमा विश्व साइकल दिवसमा दबाबमुलक र्‍याली हुने


सांकेतिक तस्बिर तस्बिरः इन्टरनेट

बिर्तामोड, जेठ १५ । झापामा विश्व साइकल दिवसको अवसरमा राइडरहरुले साइकल सुरक्षाका लागि दबाबमुलक साइकल र्‍याली गर्ने भएका छन् ।

साइकल दिवसको दिन यही जेठ २० गते साँझ ६ बजे बिर्तामोडमा एक सयभन्दा बढी साइकल राइडरहरु भेला भएर साइकल प्रयोगकर्ताहरुको सुरक्षाको पक्षमा र्‍याली हुने भएको हो ।

र्‍यालीको संयोजन गरेका प्याक एन्ड पेडलका सञ्चालक तथा साइकल अभियन्ता आकाश श्रेष्ठका अनुसार स्थानीय जनाप्रतिनिधि, अन्य सडक प्रयोगकर्ता तथा चालकहरुलाई दबाब दिन र्याली आयोजना गरिने भएको हो ।

सडकमा साइकल प्रयोगकर्तालाई अन्य सवारी साधनले हेप्ने, जबरजस्ती पेल्ने तथा साइकलयात्रीहरु दुर्घटनामा पर्ने क्रम बढ्दै गएकाले दबाबस्वरुप साँझमा कार्यक्रम गर्न लागिएको हो ।

साइकल प्रयोगकर्ताहरुलाई सडक सुरक्षा, प्राथमिकता, पार्किङमा सहज व्यवस्था बनाउन र दुर्घटना न्यूनीकरण गर्न र्‍यालीले सन्देश दिने कार्यक्रमको उद्देश्य रहेको छ ।

वातावरणमैत्री र स्वास्थ्यका लागि पनि लाभदायी हुने भएकाले साइकल संस्कृतिको जगेर्ना गर्ने, प्रवर्धन गर्ने, कुदाइराख्ने वातावरण बनाउन स्थानीय तहको भूमिका खोज्न र्याली हुन लागेको हो ।

साँझ हुने र्यालीमा साइकलमा प्रकाश परावर्तक जोड्नुका साथै चक्का वा अन्य भागमा लाइट जडान गरेर कुदाउने कार्यक्रम बनाइएको श्रेष्ठले जानकारी दिए ।

यो वर्षको विश्व साइकल दिवसको नारा साइकलको स्थायित्व र आयु रहेको छ ।

Adv footer