
बिर्तामोड, जेठ १७ । वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गतको झापा खण्डमा तीनवटा डाइभर्सन बगाएको छ । माइखोलाको बाढी बस्तीमा पस्दा २२ परिवार विस्थापित भएका छन् ।
प्रहरीका अनुसार मेचीनगरको काँकरभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’को डाइभर्सनमा बाढीले क्षति पुर्याएको हो ।
तीनै स्थानको मर्मतपछि आज साँझबाट सवारीसाधनको आउजाउ खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार कनकाई नदीमा आएको बाढी झापा गाउँपालिका–२ को सुगाबथान र कुवाडी बस्तीमा पस्दा २२ परिवार विस्थापति भएका छन् ।
झापामै मेचीनगरमा बाढीले बगाएर ल्याएको अवस्थामा एकजनाको शव भेटिएको छ । सिद्धिखोलाको मेचीनगर नगरपालिका–१ सुनारे टोल खण्ड नहरमा इलामको रोङ गाउँपालिका–६ का ५६ वर्षीय भगिरथ तामाङको शव भेटिएको हो ।
जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै वर्षा हुने क्रम बढ्दै जाने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।