२०८२ जेठ २३ शुक्रबार
Jhapa Today
Adv top

झापामा मनसुन विपद्का लागि ७५५ जना जनशक्ति तैनाथ


बिर्तामोड, जेठ २१ । झापामा यो वर्षको मनसुन विपद्का लागि ७५५ जना जनशक्ति तैनाथ राखिएको छ । त्यसबाहेक थप जनशक्ति परिचालन गर्नेगरी सुरक्षा निकाय र रेडक्रसबाट तयारी गरिएको छ ।

मनसुन विपद्का लागि सशस्त्र प्रहरीको ३२० जना, जनपद प्रहरीको ११० जना, नेपाली सेनाको १६० जना, रेडक्रसको १२५ जना र विपद् व्यवस्थापन गुल्मको ४० जनालाई तयारी अवस्थामा राखिएको हो ।

चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा झापा जिल्लाको विपद् व्यवस्थापनसँग सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह र विभिन्न संघसंस्थाबीचको छलफलमा ती निकायले आआफ्ना तयारीबारे जानकारी दिएका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले गणमा ३५ जना र मातहत गुल्म र बिओपी तथा सुरक्षा बेसहरुमा उद्धार सामग्रीसहित विपद् प्रतिक्रिया टोली तयारी अवस्थामा रहेको जानकारी दिए ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन तथा अभ्यास गराइएको बताउँदै जिल्लाका १३१ वडाहरुमा २५ जना गरी जम्मा ३२७५ जना विपद् सूचक तयार गर्ने लक्ष्यअनुरुप हालसम्म १७१ जना तयार भएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा १९३ वटा विपद् सम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरिएकोसमेत उनले जानकारी दिए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश कार्कीले जम्मा जिल्लामा १ हजार १८४ जना प्रहरी कार्यरत रहेकोमा त्यसमध्ये ११० जनालाई मनसुन विपद्का लागि तयारी राखिएको जानकारी दिए ।

प्रहरीसँग भएका स्रोत साधनलाई तयारी हालतमा राखिएको उनको भनाई छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका हरिशरण खड्का, विपद व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक विन्देश्वर यादवले पनि आफ्ना कार्यालयका तर्फबाट भए–गरेका तयारीका बारेमा जानकारी दिएका थिए ।

यस वर्षको मनसुनमा झापाका ८ हजार ९१९ घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

Adv footer