
बिर्तामोड, जेठ २२ । झापा जिल्लाको मनसुन विपद् पूर्वतयारीको लागि बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । बाढीका बेला प्रभावकारी खोज तथा उद्धारका लागि विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको हो ।

यस वर्ष औसतभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार बाढी, डुबान तथा कटानले गर्नसक्ने बढ्दो जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि मेचीनगर १३ मा रहेको निचाझोडा पोखरीमा संयुक्त कृत्रिम अभ्यास गरिएको अरिमदन गण चारआलीले जनाएको छ ।

अरिमदन गण चारआलीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला रेडक्रसद्वारा संयुक्त रुपमा स्थानीय स्रोत र साधनको प्रयोगबाट तयार गरिएको इम्प्रोभाइज फ्लोटिङ डिभाइसको प्रयोग गरी बाढी तथा डुबानको समयमा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने तरिका, डुबानमा परेका व्यक्तिहरुको रबरको डुंगा प्रयोग गरी खोज तथा उद्धार, पानीमुनिबाट उद्धार, पानीमाथि डोरी प्रयोग गरी उद्धार तथा घाइते बिरामीहरुलाई प्राथमिक उपचार तथा राहत वितरणको कृत्रिम अभ्यास गरिएको थियो ।

झापा जिल्लामा परेको पानीले भन्दा इलाम जिल्लामा परेको पानीले बढी क्षति पु¥याउने हुँदा बाढी, डुबान तथा कटानले गर्नसक्ने बढ्दो जनधनको क्षतिलाई न्यूनीकरण गर्न सो अभ्यास गरिएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।

कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, श्री नम्बर २१ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी ब्रजेश महर्जन, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख उपसचिव कुलचन्द्र नेपाल, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, वडा अध्यक्ष, विपद् प्रतिकार्य सम्पर्क अधिकृतहरु, विपद् प्रतिकार्यसँग सरोकार राख्ने संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरु, राष्ट्रिय सेवादलमा आवद्ध एनसिसी क्याडेट तथा स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो ।